![]() |
| श्री मदन ज्ञवाली |
-कालिकाप्रसाद उपाध्याय
२०४० को दशकमा नेपाललार्इ एशियाली मापदण्डमा पुर्याउने र सबै नेपालीका अाधारभूत अावश्यकता पूरा गर्ने भन्ने राष्ट्रिय अभियान थियो, कागजमा मात्रै सीमित । त्यसको ३० वर्ष बितिसक्दा त त्यस्तो विकास अँझै भएको छैन भने त्यो अँध्यारो युगमा कसरी सम्भव हुनु ? तिनताका रेडियोमा एउटा गन्धर्वगीत गुुञ्जन्थ्योः बाटो छ भिरालो, सानु कस्को अँागन कुरेर बसैाली, यही लाग्छ पिरलो । शुक्रबारे अतिरिक्त कृयाकलापको कार्यक्रममा सुमधुर स्वरका धनी मदन सरले यसलार्इ यसरि गाउनुभयोः एशियाली मापदण्ड कहाँ छ ? सानु भूमिसुधार कार्यालय जहाँ छ, नभने कसैलार्इ ।
त्यही बेला हो कि अघिपछि हो लक्ष्मीप्रसाद खनाल (लक्ष्मण) ले लक्ष्मीप्रसाद देवकोटाको पहाडी पुकार पुस्तिकाबाट कविता बाचन गर्नुभयोः भेडा त बिक्छ रूपैयाँ पाँचमा हामी त बिक्दैनैां । शिक्षक र विद्यार्थीमा विस्तारै राजनीतिक चेतना छिर्दैथियो । त्यसबेला यसरी गीत गायो भने अराष्ट्रिय तत्वको अारोपमा जेल पुगिने सम्भावना हुन्थ्यो । तर बेलाबेला शिक्षक र विद्यार्थीले बाचन गर्ने यस्ता पंक्तिले नेपालको माटो सुहाउँदो भनिएको पञ्चायती व्यवस्थाका दुर्वल पक्षबारे सोच्न घच्घच्याँउथ्यो ।
मदनसरका मनोरञ्जन र जागरणका गीत सुन्न उत्सुक नहुने कोही थिएन । पोखिएर घामको झुल्का र मेरो अँाखालार्इ राखने फूलबारी छैन भन्ने गाउँदा म टुलुटुलु हेरेर बसेको थिएँ, ब्यूटी बेटर, अो माइ डार्लिङलार्इ सेन्डिङ लेटर भनेर ठट्याउला गीत गाउँदा हाँसेको पनि थिएँ, अनि धन कमाउन भनी विदेश गाको मेरो छोरो, मेरो बाबा हर्कजीत अँझै फर्केन भनेर गाउँदा मेरो गला पनि अवरूद्ध भएको थियो । उद्घोषणको त झन् के कुरा, रनिङ शिल्ड र टुर्नामेन्टमा कमेन्टेटरका रूपमा सबैले रूचाएका व्यक्ति । कक्षामा पढाइरहँदा पनि कन्फ्युज हुन्थ्यो उहाँ पढाइरहनुभएको छ या कुनै कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ?
हाम्रो व्याचका साथीहरू एकअर्कालार्इ तँ भन्थ्यैां, उहाँले अादरपूर्वक तपाइँ भन्न सिकाउनुभयो, अाजसम्म हामी त्यही बोल्दैछैां । यो कुरा यसैपेजमा मैले पटकपटक लेखिसकेको छु ।
उहाँको विषय नहोस् तर उहाँले पढाउने शैलीले जुन विषय पढाएपनि छर्लंग बुझिने । जुन मान्छेको बोलीमा रस हुन्छ, त्यसले साँच्चै लठ्याउँदो रहेछ । हामी उहाँको स्वरमा लठ्ठिएका थिएउँ तर उहााको नजरमा हामी हरिलठ्ठक थिएउँ वा मेधावी पत्तो भएन किनभने हामीले गल्ती गर्दा पनि सम्झाउने पारा मिठै अनि प्रगति गर्दा पनि प्रशंसा गर्ने पारा मिठै ।
कृषि विषय एउटा विज्ञान रहेछ । उहाँको विषयसंग कहीं कतै मेल नखाने । हामीलार्इ ८ देखि १० सम्म कृषि उहाँले पढाउनुभयो तर विज्ञानलार्इ साहित्यजस्तो मीठो तरिकाले पढाइदिंदा त्यो विषय यति राम्रोसंग बुझियो कि एसएलसीमा सबैभन्दा बढी नम्बर (मेरो हकमा), त्यही विषयमा अायो । नेपालमा कृषि विषय पनि पढाइ हुन्छ, चितवनको रामपुरमा भन्ने कुरा पहिलोपटक उहाँबाटै सुनेको हुँ, त्यतिबेलैदेखि मैले एग्रिकल्चरमै करियर बनाउन पाए हुन्थ्यो भन्ने लागिसकेको थियो । कल्पना गर्नोस्, अाफ्नै विषय त पढाउनुभन्दा पहिले पूरा तयारी गर्नुपर्छ भने अर्कै विषय पढाउँदा कसरी सकिन्छ ? तर त्यो खुबी उहाँमा थियो ।
मैले ९, १० मा शिक्षा शिक्षण पढ्नुपरेन तर उहाँले अघिल्ला वर्षका लागि लिएका केही क्लासमा म उपस्थित भएको छु । कालोपाटीका नियमहरू, सिकाइका नियमहरू, सरलताबाट जटिलतातिर, जटिलताबाट सरलतातिर, परिवार नै मानिसको पहिलो पाठशाला, किसोरावस्थामा हुने सिकाइका गतिविधि (जस्तो जाने होइन ? भन्नुपर्योभने राजा राने राहो राइ रान), बालक र बालिकाका सिकाइका स्वभाव र रूचि जस्ता अनगिन्ति कुराहरू चाखलाग्दा थिए । केटीहरू किन डोरी नाघ्ने, खुट्टा नाघ्ने खेलतिर अाकर्षित हुन्छन् र केटाहरूलार्इ किन कपर्दी या फुटबल मनपर्छ भन्नेकुरा पनि त्यतिबेलै सिकेको हो ।
मैले केही बढी प्रशंसा गरेजस्तो लाग्दैन किनभने हामी अघिका र पछिका हरेक ब्याच जो उहाँबाट दीक्षित भए, सबैमा उहाँको अमीट छाप छ । शिक्षक अाफ्ना विषयमा पारंगत हुन्छन्, ट्यालेन्टेड पनि हुन्छन् तर विविध विशेषताले भरिपूर्ण भएर अाएका कमै हुन्छन् ती कमभित्र उहाँ पनि पर्नुहुन्छ ।
उहाँलार्इ एकपल्ट नेपाल टेलिभिजनमा पनि प्रवेश गर्ने रहर थियो, कार्यक्रम प्रस्तोताको रूपमा । नेपाल टेलिभिजन खुलेको केही वर्ष मात्रै भएको थियो, उहाँले कोसीस गर्नुभो या भएन थाहा भएन तर उहाँ त्यसका लागि पनि उपयुक्त हुनुहुन्थ्यो ।
शिक्षकलार्इ जाँच्ने सबैभन्दा ठूलो कसी त उसको विषयमा विद्यार्थीले ल्याउने अंक नै हो । मैले यो दावी गरें भने शायद गलत नठहर्ला (केही अपवाद बाहेक) कि अरू सबै विषयमा फेल भएको मान्छे पनि शायद उहाँको विषयमा चाहिं पास भइरहेको हुन्थ्यो । एउटा सफल शिक्षकका लागि यसभन्दा अरू केही प्रमाणपत्र चाहिन्छ ?
चूरेले हालैका दिनमा गरेको प्रगति उहाँजस्तै सबै शिक्षकहरूले काँधथापेको जगमा उभिएर भएको हो । यो कुरा चूरेले पक्कै विर्सेको छैन । शायद चूरेले अाफुसंग नयाँ पूस्ताका एक से एक मूर्धन्य शिक्षक हस्ती पाएर पनि अँझै सपना देखिरहेको होलाः शिक्षक होस् त मदन सरजस्तो । रहँदा बस्ता महत्वहीन लागेपनि मान्छेको महत्व उसको रिक्ततापछि मात्र महसुस हुन्छ । मलार्इ जैलेजैले कलेजका विविध विषयका अप्ठ्यारा च्याप्टरहरू बुझ्न कठीन हुन्थ्यो, त्यो बेला मदनसरको झझल्कोले सताउँथ्यो ।
