
- कृष्ण प्रसाद पौड्याल
मेरा शिष्यहरु सधै अघि बढुँन, कर्तव्य पथमा हिडुँन् ।
नेपाल देश बनाउन तिनी सबै जुटी समर्पित हउँन् ।।
तिन्मा शक्ति मिलोस् धनञ्जय सरी बल्मा ती बज्रै बनुँन् ।
व्यौमैमा शशि सूर्य झैं चमकिला तारा सरी चम्किउँन् ।।१।।
लाटा बोलुन मुसुमुसु गरी ज्ञानको वोध पाई ।
अन्धा जागुन जरझर गरी कान्ति तिनको चियाई ।।
बैरा उठुन सुमधुर सधैँ स्वर तिनको सुनेर ।
विहानी भो टलल नभमा सूर्य आयो भनेर ।। २।।
पर्नन् पत्थर प्रगति पथमा रुक्न काँही नरुके ।
बढ्दै जाउन् अघि अघि तिमी झुक्न काँही नझुके ।।
तिम्रो आत्मा निरमल रहोस् ज्ञान ज्योति लिएर ।
बढ्दै जानु प्रगति पथमा शान्ति सन्देश छरेर ।।३।।